तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, अझै निगमलाई पाक्षिक ३१ करोड नोक्सान

काठमाडौं, ३१ साउन । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई पेट्रोलियम पदार्थको मंगलवार नयाँ मूल्यसूची पठाएको हो । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

तर, नेपाल आयल निगमले सो सयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारीनै रहेको छ ।

यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ ।

लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य घटाएको छैन ।

नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।

अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निगमले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here