एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, ३१ साउन । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा युनिलिभरका शेयर धनीले सर्वाधिक ५.६२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, दोर्दी हाइड्रोपावर, पञ्चकन्या माइ, जोशी हाइड्रो, हिमालयन ऊर्जा र आइएमई जनरल इन्स्योन्सको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, युनाइटेड मोदी, नेपाल फाइनान्स, ग्रीन भेन्चर्स लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ८ करोड र हिमालयन डिस्ट्रीलरी साढे ५ करोड बढीको कारोबार भएको छ ।

सोमबार शेयर बजारमा वाणिज्य बैंकहरुले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा बजार उच्च अंकले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here