काठमाडौं, १ भदौं । सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाएको छ ।
वातावरण विभाग भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोग प्रतिबन्ध लगाएको र उत्पादन र कारोबार भए नभएको बारे अनुगमन थाल्ने जनाएको छ ।
४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने प्रष्ट पारेको छ ।
यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो।
तर कोरोनाका बेला अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोग वृद्धि हुँदै गएको पाइएको विभागको भनाइ छ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन । गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेशसमेत दिएको थियो ।
यस्तै, सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बिभागले जनाएको छ ।
यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको थिएन ।