प्रम राहत कोषमा २५ लाख जम्मा, केडियाले १५ र कर्मचारीले १० लाख दिए

काठमाडौं, ८ साउन । प्रधानमन्त्री दैवीप्रकोप उद्दार राहत कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा व्यापारिक समुह केडिया ग्रुपले १५ लाख र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरे ।

‘प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।’

राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताए ।

‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन ।’

अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख समेत गरे । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरेका छन् ।

सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here