अर्बौ लगानीका आयोजना सम्भावित विपदप्रति बेखबर, अकालमा मर्दैछन् मजदूर

फोटो क्रेडिट : खेम गुरुङ

काठमाडौं । बुधबार लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा ४ जनाको निधन भइसकेको छ ।

अझै करीव एक दर्जन वेपत्ता रहेको खबर छ । प्रहरीले खोजी कार्य जारी रहेको बताएको छ ।

मृत्यु हुनेहरु निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा काम गर्ने मजदूर हुन् । दोर्दी खोलामा निर्माणाधिन २५ मेघावाटको जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

करीव ९० प्रतिशत काम सकिएको यो आयोजना करीव ४ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाले समेत विपद्को सम्भावित क्षतिबारे कुनै अत्तोपत्तो पाउन सकेन । खोलामा काम गरिरहेका मजदूरलाई बेलैमा सचेत गराउन सकेको भए सायद अकालमा मजदूरको ज्यान जाने थिएन् ।

खासगरी वर्षायाममा खोला आसपास काम गर्ने मानिसहरुलाई सम्भावित जोखिमबारे जानकारी नै नदिई काम गराउने परिपाटीले अहिले ठूलो मानवीय क्षति निम्त्याएको छ ।

बुधबार उक्त क्षेत्रमा अविरल वर्षा भएको थियो । वर्षायाममा खोलाको मुहानतिर ठूलो पानी आएको देखियो भने तल्लो किनारको नजिक नबस्नु भन्ने उर्दी सूचना प्रविधिको विकास नभएकै समयमा पनि दिने गरिन्थ्यो ।

अहिले त मानिससँग सबै प्रकारको सुविधा छ । वर्षा कुन क्षेत्रमा कति भइरहेको छ, वास्तविक समयमा वास्तविक हेर्न सकिन्छ । यस्तो अजस्थामा पनि मजदुरलाई जानकारी दिन नसक्ने सरोकारवालाको ठूलो कमजोरी हो ।

लमजुङ प्रहरीका अनुसार बुधबार रातीसम्मको खोजीका क्रममा पनि ४ जनाको मात्र शव भेटिएपछि बिहीबारबाट पुनः खोजी कार्य शुरु गरिएको छ ।

अविरल वर्षा र ठूलो बाढीका कारण खोजी कार्य कठिन भइरहेको प्रहरीको भनाई छ ।

एक महिना अगाडी रसुवामा निर्माणधिन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ मार्ग भत्किएपछि करीव डेढ दर्जन मजदुर सुरुङ भित्रै थुनिएका थिए ।

भाग्यवशः त्यहा मानवीय क्षति हुन पाएन । किनकी त्यहा सुख्खापहिरो गएको थियो ।

पछिल्लो समय देशभरका खोलामा जलविद्युत आयोजनाको काम तिब्र रुपमा भइरहेको छ ।

पहाडका अनकन्टार डाँडाहरुलाई डोजरले छियाछिया पारिरहेको छ । यस्तो संवेदनशिल क्षेत्रमा वर्षायाममा हुन सक्ने सम्भावित जोखिमबाट बेलैमा नसोच्ने हो भने झन ठूलो दूर्घटना नहोला भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here