हिमाल आरोहणका लागि ४५० बढीले लिए अनुमति, ५ करोड ३२ लाख रोयल्टी संकलन

फाइलफोटो

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)को हिमाल आरोहणका लागि ४८ आरोही समूहका ४५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्ययटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही समूहका आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, हिम्लुङ हिमालका (७,१२६ मिटर) मा दुई समूहका सात, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन् ।

यो सिजनमा हिमाल आरोहणबाट हालसम्म ५ करोड ३२ लाख २७ हजार ५९२ हजार रोयल्टी जम्मा भएको छ । हिमाल आरोहणका लागि हालसम्म ६० मुलुकका ११० महिला र ३४४ पुरुष गरी कुल ४५४ आरोही नेपाल आएका छन् ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ ।

शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here