काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले यही असोज २५ गते १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।
केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।
यी ट्रेजरी बिल क्रमशः कात्तिक २२ गते, पुस २६ गते, चैत २८ गते र २०८० असोज २३ गते परिपक्व हुनेछन् ।
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।
यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।