अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बारे अध्ययन गरिने, सहकार्यका लागि महासंघले आईएफसीसँग सम्झौता गर्यो

काठमाडौं । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रले पुरयाएको योगदानबारे अध्ययन गरिने भएको छ । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी)बीच सहकार्यको सम्झौता भएको छ ।

निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी उनीहरुले अर्थतन्त्रमा पुर्‍याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउने उद्देश्यले निगमसँग सम्झौता गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार अब महासंघ र निगमले संयुक्त रुपमा प्रतिवेदन तयार गर्नेछन् । यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्ने बताइएको छ ।

यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य महासंघको छ ।

नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । बृहत् तथा सुसुचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।

सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्नुपर्ने अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here