‘बर्गर हाउसमा खान नमिल्ने मासु, धेरै रेष्टुरेन्ट र मिठाई पसल अस्वस्थकर’

काठमाडौं, १ कात्तिक । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले उल्लेख गरेको छ ।

स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर-३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरिएको हो।

स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकलाई चासो नदिएको उनले बताए।

‘भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ,’ उनले भने, ‘एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुको प्रयोग देखिन्छ।’ यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ।

‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, ुव्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।’

‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले अगाडि भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here