सुस्तायो घरजग्गाको कारोबार, एक वर्षमै ५६ प्रतिशत घट्यो

काठमाडौं । घरजग्गाको कारोबारमा सुस्ताउँदै गएको छ । वैशाख यता ओरालो लागेको घरजग्गा कारोबार महिनैपिच्छे झन्झन् खस्कँदै गएको छ ।

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।

असोज महिनामा गत २०७८को असोजमा तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बितेको असोज महिनामा २५ हजार ७८९ मात्रै लिखत (रजिस्ट्रेसन) पास भएका छन् । गत वर्ष २०७८को भदौमा यस्तो लिखत पासको संख्या करिब ५९ हजार २२७ थियो ।

असोजमा चालु वर्षको ३ महिनामै सबैभन्दा कम घरजग्गा किनबेच भएको छ । साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएकोमा असोजमा २५ हजार ७८९ वटामा सीमित भएको छ ।

१ वर्षदेखि कायम तरलता अभाव अझै सहज हुन सकेको छैन । जसकारण घरजग्गामा लगानी गर्न अझै बैंकबाट ऋण पाउने अवस्था छैन ।

यस्तै, सरकारले गत जेठदेखि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएको छ । सो नियमावली अनुसार कृषि र गैह्र कृषि क्षेत्र वर्गीकरण गरी गैह्रकृषि योग्य जग्गा मात्र कित्ताकाट गर्न पाइने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here