काठमाडौं । नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४१.३१ प्रतिशतले बढेको छ ।
गत वर्ष नेपाल बंगलादेशलाई गाभेको नबिलले चालु आवको असोज मसान्तसम्म १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६ करोड बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ११ करोड खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फि तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
हाल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ तथा सरप्लस कोषमा ३० अर्ब ४३ करोड संचित छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशतले बढेको हो ।
नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.५८ रुपैयाँ घटेर २७.५३ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ, खराब कर्जा २.३३, मूल्य आम्दानी अनुपात २९.३९ गुणा, बेसरेट ९.४५ प्रतिशत र सीडी रेसियो ९०.३७ प्रतिशत रहेको छ ।