लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्‌को पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणले यसवर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत्‌गृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो। बिनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ। प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन। कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।

यसवर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री गरिरहेको छ।

‘विगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत् खपतलाई पिक डिमाण्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमाण्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘तिहारमा उद्योग कलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन् फेरी तराईमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत् माग नआउने समय हो।’

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो। देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ। यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ। गत वर्ष ३२०.६४ मेगावाट थियो।

प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here