तीन महिनामा ४ खर्ब ७८ अर्बको आयात हुँदा निर्यात ६५ अर्बमा सीमित

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा नेपालले ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/ ८० को तीन महिनाको तथ्यांक अनुसार उक्त अवधिमा निर्यात भने ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरमा सीमित भएको छ ।

जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ । सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको तथ्यांकले देखाएको छ ।

पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाईजहाज तथा स्पेयर पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपूर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एमएस विलेट लगायतका वस्तुको आयात घटेको छ।

चाडपर्व लक्षित आयात वृद्धिका कारण एक महिनामै कुल वैदेशिक व्यापारको आकार पौने २ खर्बले बढेको विभागले जनाएको छ । भदौमा नेपालको कुल वैदेशिक व्यापारको आकार ३ खर्ब ५८ अर्ब रुपैयाँ थियो । असोजमा यस्तो आकार ५ खर्ब ४३ अर्ब ५७ करोड पुगेको छ ।

भदौको तुलनामा असोजमा आयात एक खर्ब ६४ अर्बले बढेको र निर्यात २१ अर्बले बढेको हो । भदौमा ३ खर्ब १४ अर्बको वस्तु आयात भएको थियो भने निर्यात ४४ अर्ब ३ करोड बराबरको थियो ।

अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब ४३ अर्ब रुपैयाँले धेरै हो ।

तीन महिनाको अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here