नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ ।

‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ५.८ प्रतिशतले बढ्ने आकलन गरेको हो ।

सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वल्र्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९र८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ को मुद्रास्फीतिदर ६.३ प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा ५.५ र सन् २०२४ मा ५.३ प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९र८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः २, ८.९ र ५.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २०.२३ र १८.०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने ३.९ प्रतिशत र ४.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here