काठमाडौं, १५ कात्तिक । तिहारपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ । तिहार बिदापछि बजार खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।
मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । सोमवार ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५.५० प्रतिशतले बढेको छ ।
दोहोरो अंकले बढेको बजारमा आज न्यादी हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, युनिभर्सल पावर ९, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्को शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।
शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार एनसीसी डिभेन्चर सिटिजन म्युचुअल फण्ड –१ काे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक झन्डै ६ करोड र शिवम् सिमेन्ट ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।