क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२३/२४ कार्यकालको निम्ति उपाध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुँवर सो पदमा निर्वाचित भएका हुन् ।

यसअघि उनी २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सहउपाध्यक्ष थिए । कुँवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित हुन् ।

इन्फर्मेसन सर्भिस इण्डष्ट्री एसोसिएसन ताइवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय असोसियो समितिमा नेपालसहित जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेसिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।

कुंवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघ उनको सफल कार्यकालको कामना गरेको छ । साथै, असोसियोमा उहांको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास क्यान महासंघको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here