उद्यमशीलता सम्मेलन भोलि, स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने

क्लाउडपत्रिका
काठमाडौं, १ फागुन । विहीबार आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने आयोजकले बताएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले स्थानीय स्तरमा उद्यमशीलताको विकासको सोच नआएसम्म यस क्षेत्रमा युवाहरुको आकर्षण बढ्न नसक्ने यथार्थ औंल्याउदै उद्यमशीलता सम्मेलनले यही अवधारणाको विकासमा जोड दिने धारणा व्यक्त गरे ।

मुलुकको आर्थिक समृद्धिमा विशेषतःउद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र श्रृजनशीलताको प्रमुखभूमिकाहुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै नेपालउद्योग परिसंघ, नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्तरुपमा सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

संघीय नेपालमा लगानी र वृद्धिका अवसर शीर्षकमा आयोजना गर्न लागिएको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले विशेष सम्बोधन गर्नेछन् । त्यसैगरी सातै प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रीहरुले आआफ्ना प्रदेशका संभाव्यता तथा उद्यमशीलता कार्यक्रमहरुका बारेमा प्रस्तुति दिनेछन् ।

यस सम्मेलनले उद्यमशीलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवं देश भरिका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, श्रृजनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र विदेशमा रहेका युवाहरुलाई स्वदेशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ ।

यस सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना वक्ताहरुले दुई वटा सत्रहरुमा उद्यमशीलता विकास–चक्र, नवीन सोच, नव–प्रवर्तन र त्यसका लागि आवस्यक वित्तीय व्यवस्थापनका विषयमा व्यापक छलफल गरी निश्कर्षमा पुग्ने बाटो पहिचान गर्ने प्रयास हुने छ भने नेपालमा उद्यम गरी सम्मानीत स्थानमा पुग्न सफल ६ जना उद्यमीहरुबाट आफ्ना अनुभव तथा सफलता हासील गर्ने उपायहरुका विषयमा समेत चर्चा हुने छ ।

सम्मेलनको समापन सत्रलाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने छन् । सरकारी पदाधिकारीहरु, साना, मझौला तथा ठूला उद्योगहरुमा संलग्न वा संलग्न हुन चाहने उद्यमी/व्यवसायी, स्वदेशी एवम् विदेशी उद्यमीहरु, नव–प्रवर्तन, नयाँ प्रविधी र उद्यमशीलताको प्रवद्र्धनमा संलग्न महिला तथा युवा उद्यमीहरु तथा नेपालका ७ वटै प्रदेशका उद्यमीहरु गरी करीब ४०० जना सो सम्मेलनमा सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here