ब्याजदर वृद्धिको विरोधमा उद्योगी–व्यवसायीले माइतीघरमा गरे प्रदर्शन

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

महासंघका साथै अन्य व्यवसायिक संगठनको नेतृत्वले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री लगायत सरोकारवालालाई भेटेर ब्याजदर घटाउन माग गरे पनि त्यसको सुनुवाइ नभएको भन्दै उनीहरु सडकमा उत्रिएका जनाएका छन् ।

प्रदर्शन गर्नेहरुले ‘मनपरी प्रिमियम बन्द गर्, बैंकिङ आतंक बन्द गर्, ब्याजदर चर्को भो गरिखान गाह्रो भो’ जस्ता पर्चा देखाएर शान्तिपूर्ण प्रदर्शन गरे ।

उद्योगी तथा व्यापारीहरुले पछिल्लो समय ब्याजदर चर्को भन्दै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।

यसअघि व्यवसायीहरुले पूर्वको विराटनगर, इटहरी लगायत स्थानबाट ब्याजदर विरुद्धमा आन्दोलन थालेका थिए । सोही आन्दोलनको अहिले काठमाडौंमा चर्किन थालेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत नीतिगत बैंकदरहरु परिवर्तन गर्दै ब्याजदर बढाउन प्रोत्साहन गरेको थियो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले असोजदेखि निक्षेपको ब्याजदर बढाएका थिए ।

हाल निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म पुगेको छ भने कर्जाको ब्याजदर १८ प्रतिशत नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here