थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । नयाँ बीमा ऐन कार्यान्वयनमा आएसँगै बीमा समितिले मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम सुरु गरेको हो ।

बीमा ऐन २०७९ अन्र्तगत समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणको रुपमा अघि बढेको छ । गत भदौ अन्तिममा संघीय संसदले पारित गरेको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो । समितिले कार्यक्रम सहित प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरेको छ ।

नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकाय हो । ऐन अनुसार प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारका रूपमा समेत कार्य गर्नेछ । ऐनले नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ ।

बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरू प्राधिकरणलाई दिइएको छ ।

यो व्यवस्थाले बीमा समितिको हालका अध्यक्ष नै कार्यकाल पूरा नहुँदासम्म प्राधिकरणको अध्यक्ष बन्नेछन्। योसँगै बीमा समितिको सञ्चालक समितिको कार्यकाल पूरा नहुन्जेलसम्म प्राधिकरणमा निरन्तता पाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here