भारतीय प्रतिबन्धले तीन महिनामै गहुँ आयात ९६ प्रतिशत घट्यो, चामल ५ अर्बको भित्रियो

फाइल तस्बिर/रासस

काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा गहुँको आयातमा कमी भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा गहुँ आयात ९६ प्रतिशतले कमी आएको हो ।

तीन महिनामा चार करोड ८५ लाख २१ हजार रुपैयाँको गहुँ आयात भएको छ । गत वर्ष सोही अवधिमा गत एक अर्ब ३१ करोड १६ लाख रुपैयाँको गहुँ आयात भएको थियो ।

रुस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो । भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

त्यस्तै चामल ३२ प्रतिशतले आयात घटेको छ । विभागका अनुसार सो तीन महिनाको अवधिमा चार अर्ब ९३ करोड ३२ लाख ५२ हजार रुपियाँ बराबरको चामल आयात भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा सात अर्ब २१ करोड ९८ लाख रुपैयाँको चामल आयात भएको थियो ।

आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here