खर्च धान्नै गाह्रो भएपछि ३० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त ऋण उठाउन लागेको हो ।

सरकारलाई राजस्व र विदेशी सहायताले खर्च धान्नै गाह्रो भएपछि राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिन लागेको हो । सरकारले चालु आवमा कुल २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकले मंसिर १२ गतेदेखि ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले मंसिर १२ गते र पुस १८ गते ३६४ दिन अवधिका दुईवटा ट्रेजरी बिल जारी गर्ने भएको छ । ७ अर्ब ५० करोड रुपैयाँका दरले १५ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

त्यस्तै, २, ३ र ४ वर्षे गरी तीनवटा १५ अर्ब मूल्यका विकास ऋणपत्र जारी गर्ने तालिकामा उल्लेख छ । बैंकले ८ अर्बको २०८१ ‘छ’, दुई अर्बको २०८२ ‘छ’ र ५ अर्बको २०८३ ‘ज’ नामक विकास ऋणपत्र जारी गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here