खुम्चियो वैदेशिक व्यापार, आयात र निर्यात दुवै घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक व्यापार खुम्चिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बर्षको सोही अवधिको तुलनामा असोज मसान्तसम्म आयात र निर्यात दुबै खुम्चिएको हो । 

तीन महिनामा तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । 

त्यस्तै, महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले घटेर ४ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । 

चीन र भारतमा निर्यात घट्दा अन्य मुलुकमा बढ्यो 

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात घटेको छ भने अन्य मूलुकतर्फको निर्यात बढेको छ । भारततर्फको निर्यात ४५ र चीनतर्फको निर्यात ३५ प्रतिशतले घट्दा अन्य मुलुकतर्फको निर्यात ५ प्रतिशतले बढेको छ । 

यस अवधिमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै, सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यातमा कमी आएको तथ्याङ्कमा उल्लेख छ । 

पेट्रोलियम पदार्थदेखि रासायनिक मलसम्मको आयात बढ्यो

तीन महिनामा भारत, चीन तथा अन्य मुलुकबाट गरिने आयातमा कमी आएको छ । भारततर्फ १४.८ प्रतिशत, चीनतर्फ १६.७ प्रतिशत र अन्य मुलुकतर्फको आयातमा १९.२ प्रतिशतले कमी आएको हो । 

आयात बढेका वस्तुहरूमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, औषधी, कोइलालगायतका वस्तु रहेका छन् भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ । सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here