काठमाडौं । काठमाडौं महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ ।
थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएपछि महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थालेका छन् ।
हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गरेका हुन् ।
थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।
महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।
बागमती नदी किनारामा निर्माण भएका घर टहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचनाअनुसार मङ्सिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नुपर्ने थियो । सो क्रममा महानगरको टोली सो स्थानमा पुगेसँगै स्थानीयले आक्रमण गरेका थिए ।