भृकुटीमण्डपमा ‘इभी नेपाल एक्स्पो’, आकर्षणमा साइकलदेखि टेम्पाेसम्म (फोटोफिचर)

काठमाडौं । भृकुटीमण्डपमा शुरु भएको विद्युतीय गाडीको प्रदर्शनी मेला ‘इभी नेपाल एक्स्पो’ आइतवार सकिँदैछ ।

कोभिड-१९ को महामारीका कारणले प्रदर्शनीमा दुई वर्षदेखि ढिलाइ भएको प्रदर्शनी मंसिर १६ गतेदेखि सञ्चालन हुँदै आएको छ ।

मेलामा प्रदर्शनीमा विशेषगरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । नेपालको पहिलो र एकमात्र उत्पादक अटोरिक्सा आर्कषणको रुपमा देखिएको छ ।

मिथिला अटो क्राफ्टका निर्देशक मन्जित शाहले सवारी बोक्ने ११ सिटे अटोरिक्सा र १ टन क्षमताको लोडर उत्पादन गरिरहेको बताए ।

हाल तराइका केहि निश्चित शहरहरुमा मात्र डिलर मार्फत विक्री वितरण गरिएको भएपनि अबका दिनमा काठमाडौं लगायत देशभर डिलर विस्तार गर्ने योजनाको साथ प्रदर्शनीमा सहभागि भएको उनले क्लाउड पत्रिकालाई बताए ।

करिब २ बर्ष पहिलेदेखि विभिन्न अनुसन्धान र परीक्षण पश्चात इजिगो ब्राण्ड नामबाट उत्पादन थालेको इजिगो इलेक्टिक साइकल पनि मेलामा आर्कषणको विन्दु बनेको छ ।

अवलोकनमा आउनेले उक्त साइकल चलाएर मज्जा लिने गरेका छन् । इजिगो इलेक्टिक साइकलका प्रबन्ध निर्देशक मनिस बन्सलका अनुसार तराइका केही शहरहरुमा डिलर मार्फत विभिन्न मोडेलका विद्युतीय साइकलहरु विक्री वितरण गरिरहेको पनि अब देशभर जाने तयारीमा रहेको बताए ।

हाल उनको कम्पनीले ६५ हजार रुपैयाँ देखि १ लाख ४५ हजार सम्मका विद्युतीय साइकलहरु विक्री गरिरहेको बताए ।

मेलालाई नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र समाजसेवी सपना रोका, मगरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन् । भारतबाट मात्रै करिब ५० भन्दा बढी कम्पनीहरुले सहभागिता रहेको आयोजकले जनाएको छ ।

उक्त मेलाबाट नेपालमा डिलर तथा डिष्ट्रिव्युटर लिन चाहने वा सवारीसाधन खरिद गर्न चाहने दुबै पक्षको लागि फाइदा पुगे पनि सर्वसाधारणको सहभागिता भने कमै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here