ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर निर्माण थालिँदै

काठमाडौं, १९ मंसिर । ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभरको निर्मार्ण आगामी शुक्रबारबाट थालिने भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएपछि निर्माणको शुरु गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभर ६ मिटर उचाईको हुने भएको छ । यसको निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । आयोजनाको जिम्मा एम–एस आशिष–समानान्तर (जेभी)ले पाएको छ । २०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु भएको थियो ।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिँदैछ । सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको हो । सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको बन्नेछ ।

निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् । पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् । फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ ।

फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । ओभरपासमा सवारीसाधन चढ्न दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम बन्ने भएको छ । चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गराउृने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here