आजबाट ६ महिनासम्म काठमाडौंका धारामा मेलम्चीको पानी

फाइलफोटो

काठमाडौं, २३ मंसिर । हिउँदयामको सुख्खामा काठमाडौं बासीलाई राहत पुग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजबाट पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्न लागेको हो । अब ६ महिनासम्म निरन्तर पानी वितरणको योजना छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालमा रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्दैछन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट हिजो काठमाण्डौ भण्डार केन्द्रका लागि पानी छोडिएको छ ।

यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं ल्याइएको हो । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो ।

तर, बाढी पहिरोको जोखिम बढेको भन्दै गएको असार १७ गतेदेखि मेलम्चीको पानी वितरण बन्द गरिएको थियो । अहिले सुरुङबाट प्रतिसेकेन्ड झण्डै पाँच सय लिटर पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ ।

काठमाडौं उपत्यकामा क्रमशः दैनिक १७ करोड लिटर पानी वितरण गरिनेछ । काठमाण्डौ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित १० करोड लिटर पानी पनि वितरण गरिनेछ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार उपत्यकामा १० वटा ट्याङ्की निर्माण गर्नुपर्नेमा नौवटाको निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा पानी ट्याङ्की निर्माणाधीन अवस्थामा छ ।

आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण गरिसकिएको छ । ती ट्याङ्कीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here