काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् ।
नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।
चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।
उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केवलकार सञ्चालनमा आउने पनि जानकारी दिए । ‘बुटवलमा बनिरहेको केवलकार तीन महिनाभित्रै सञ्चालनमा आउँछ,’ उनले भने ।
बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए ।
दुई महिनामा भौतिक संरचना निर्माण पश्चात तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।
ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरूको चाप बढ्ने बताए । उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए ।
नेपालमा अहिले विशेषगरी चार वटा स्थानमा केवलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक ०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो ।
चितवनको कुरिनटारको चेरेबाट गोरखाकाे मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केबलकारबाट प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजन मनकामना पुग्ने गर्छन् ।
मनकामना केबलकार बनेको १७ वर्षपछि सञ्चालनमा आएको अर्को केवलकार हो, चन्द्रगिरी केवलकार । उपत्यकाभित्रै निर्माण भएको केवलकार २०७३ सालबाट सञ्चालनमा आएको थियो ।