एघार महिनामा ११ अर्ब ८१ करोड विदेशी लगानी, सबैभन्दा धेरै हाइड्रो र सिमेन्टमा

काठमाडौं १७, साउन । गत आर्थिक वर्षको ११ महिनासम्म ११ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल आएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब साढे २५ प्रतिशतले कम हो ।

०७४ को एघार महिनामा १५ अर्ब ८७ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिए पनि यो वर्ष विदेशी लगानी बढ्न सकेको छैन ।

सरकारले यो वर्ष लगानी सम्मेलन गरेको छ । सम्मेलनमा करिब ३० खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सरकारी लक्ष्य छ । तर, लक्ष्यको विपरित विदेशी लगानी निरन्तर घटिरहेको छ ।

मुलुकमा लगानीमैत्री वातावरण बनि नसकेकाले यो वर्षका प्रायः सबै महिनामा विदेशी लगानी घट्दै गएको जानकारहरु बताउँछन् । ‘अहिले मुलुकमा लगानी वातावरण राम्रो छ, यस्तो अवस्थामा पनि एफडीआई बढ्न नसक्नुले राम्रो संकेत गर्दैन,’ अर्थविद केशव आचार्यले भने,‘लगानी किन आएन, अझै केही कमी कमजोरी छन ?’

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष १७ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो २९.६८ प्रतिशतले बढी हो ।

पछिल्ला वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ । अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड रहेको सरकारी तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here