काठमाडौं । केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।
जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायत उपाय अपनाउने गरिन्छ । तर, पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू समेत हुने गरेका छन् ।
चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् ।
त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो घटना बनिरहेको छ ।
जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।
त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् ।
लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ
जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
यस्ता छन् मन्त्रालयका सुझाव–
१. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ ।
२. कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
३. आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ ।
४. आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ ।
५. हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
६. सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।
७. गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ ।
८. गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।