प्रधानमन्त्रीको जिल्लामा ६४ अर्बको औद्योगिक पार्क

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुने भएको छ । झापाको दमकमा निर्माण हुने यस परियोजनाको करीब ६४ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

प्रम ओलीको गृह जिल्लामा निर्माण भए पनि यो पूर्णतया विदेशी लगानीको परियोजना हो ।

लगानी बोर्डको शुक्रबारको बैठकले उक्त लगानी स्वीकृत गरेको हो । लगानी बोर्डको अध्यक्ष स्वयमः प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।

करीब तीन वर्षअगाडी देखि औद्योगिक पार्क निर्माणमा चीनले चासो देखाइरहेको थियो । यस परियोजनामा ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेण्ट जोन जीङ–पिङ जोइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेण्ट प्रालिको लगानी रहने भएको छ ।

बैठकले उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन दमक क्लिन इन्डस्ट्रीयल पार्कलाई अनुमति समेत दिएको छ ।

बैठकले बिराटनगरमा निर्माण तथा संचालन गर्न प्रस्ताव गरिएको मल्टी मोडेल लजिस्टिक पार्क परियोजना समेत स्वीकृत गरेको छ । परियोजनाको अध्ययनका लागि सीजी लजिस्टक प्रालिले अनुमति समेत पाएको छ । यो परियोजना संचालन गर्ने सम्बन्धमा सीजी र यूएईको सर्राफ ग्रुपबीच लगानी सम्मेलनका अवसरमा समझदारी भएको थियो ।

उता, जनकपुरमा निर्माण तथा संचालन गर्न प्रस्तावित रेल्वे लिंक्ड प्राइभेट फ्रेट टर्मीनल परियोजना समेत लगानी बोर्डले स्वीकृत गरेको छ । यसको अध्ययनका जिम्मा ग्रीन इन्फ्रास्टक्चर प्रालिलाई दिइएको छ ।

बैठकले ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजनाका लागि प्राप्त आशयपत्रको मूल्यांकन गरी सूचिकृत भएका पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड र फुजी इलेक्ट्रीक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णयसमेत गरेको हो ।

लगानी बोर्डले यसअघि निजीक्षेत्रका तीन ठूला परियोजना स्वीकृत गरिसकेको छ । आगामी बैठकले गत चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरिएका थप ठूला परियोजना स्वीकृत गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here