आधा दर्जन बैंकले ब्रोकर लाइसेन्स माग्दै नेप्सेमा आवेदन दिए

काठमाडौं १९, साउन । सेयर ब्रोकरको लाइसेन्स माग गर्दै नेप्सेमा करिब आधा दर्जन वाणिज्य बैंकहरुले आवेदन दिएका छन् । यो गत शुक्रबार अघि नै नेप्सेमा पेस भएको आवेदन हो ।

नेप्सेले शुक्रबार वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स सम्बन्धी कार्यविधि जारी गरेको छ । यो सँगै शुक्रबार नै नेप्सेले सूचना जारी गरी ब्रोकर लाइसेन्सका लागि आवेदन दिन बैंकका सहायक कम्पनीलाई आग्रह गरेको छ । शुक्रबार अघि नेप्सेमा पेश गरिसकेका बैंकका सहायक कम्पनीहरुले पनि कार्यवधिको मापदण्ड भित्र बसेर पुनः आवेदन दिनुपर्ने नेप्सेले जनाएको छ ।

सूचनामा पहिलो चरणमा १५ दिनको समयावधि दिइएको छ । सो समयभित्र आवेदन दिने बैंकहरुलाई सिफारिसकालागि एकै पटक धितोपत्र बोर्डमा पठाइने नेप्सेले जनाएको छ ।

‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि, २०७६’ जारी गर्दै नेप्सेले उक्त सूचना जारी गरेको हो ।

सञ्चालनमा रहेका धितोपत्र ब्रोकरले बैंकको सहायक कम्पनीलाई सेयर कारोबार गर्न दिन नहुने भनेर विरोध गरिरहेका छन् । कार्यविधि अनुसार सेयर कारोबार सञ्चालनका लागि स्थापित बैंकको सहायक कम्पनीमा वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको र न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्नेछ । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको हुनुपर्ने तथा कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here