जाने होइन त गोसाईंकुण्ड ?

गोसाईकुण्डतर्फ लाग्दै धार्मिक पर्यटक तस्वीर : नेपाल पर्यटन बोर्ड

काठमाडौं, २० साउन । श्रावण शूक्ल पञ्चमी, भगवान विष्णुको शयन आशन तथा भगवान शिवको गहना नागराजलाई पूज्ने दिन नागपञ्चमी ।

यसै दिनबाट पत्रिव धार्मिक गन्तब्य गोसाईंकुण्डमा भब्य मेला शुरु हुन्छ । तपाईंमा धार्मिक आस्था छ र सुन्दर धर्तिमा एक पटक पाइला राखी स्वर्गीय आनन्दमा रमाउने लालसा पनि छ भने यात्राको योजना बनाइहाल्नुस । किनकी हजारौं धार्मिक तथा आस्थालु मन यतिबेला गोसाईंकुण्डमा एक डुबल्की मार्दै भगवान शिवको समिपमा पुग्ने योजनामा छन् ।

तपाई पनि त्यसको हिस्सा बन्न सक्नुहुन्छ । धार्मिक आस्थाको केन्द्र र प्राकृतिक छटाको भरपुर आनन्द, यी दुबैको संगमस्थल हो पवित्र गोसाईंकुण्ड ।

नागपञ्चमीमा शुरु भएको गोसाईंकुण्ड मेला जनैपूर्णिमा सम्म चल्छ । यसबीचमा हजारौं तीर्थालु यस गन्तब्यसम्म आइपुग्छन् ।

त्यसो त हरेक जेष्ठ प्रतिपदादेखि दशमीसम्म चल्ने गोसाईंकुण्ड स्नान मेला पनि चल्छ । तर, नागपञ्चमीदेखि जनैपूर्णिमासम्मको मेला साक्षत भगवान शिवको दर्शन गर्ने अवसरका रुपमा भक्तजनहरु लिन्छन् ।

परापूर्वकालमा देवता र दानवबीच लडाइ भयो । त्यसबेला समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई भगवान शिवले त्रिशुलले भित्तामा हिर्काएको किंवदन्ती छ ।

उनले त्रिशुल गाड्दा त्यहा धारा उत्पत्ती भयो । सोही त्रिशुल धाराको पानीबाट गोसाईंकुण्ड उत्पत्ति भएको बताइन्छ । सोहीकारण यस कुण्डमा स्नान गर्न देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन यहाँसम्म पुग्ने गर्छन् ।

कुण्डमा स्नान गरी भगवान शिवको दर्शन गर्दा पापबाट मुक्ति मिल्ने, पितृ खुसी हुने तथा मनोकामना पुरा हुने विश्वास लिइन्छ ।

गोसाईंकुण्डका दुई नामले यस पवित्र भूमिको महिमा अझ प्रष्ट हुन्छ । जानकारहरुका अनुसार गो भनेको पृथ्वी र साई भनेको मालिक हुन् ।

अर्थात, पृथ्वीको मालिकको दर्शन गर्ने पवित्र स्थल हो गोसाईंकुण्ड । यस भूमिलाई पृथ्वीको शिरपोश अर्थातः टोपीका रुपमा पनि ब्याख्या गर्न सकिन्छ ।

शाहसिक यात्राको अनुपम गन्तब्य
तपाईं धर्मलाई शाहसिक यात्रा रुपमा पनि उपयोग गर्न चाहनुहुन्छ भने गोसाईंकुण्ड सबैभन्दा आकर्षक गन्तब्य बन्न सक्छ । अहिले पर्यटकहरु लाङटाङबाट गोसाईंकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म पदयात्रामा निस्कन्छन् ।

कहिले लाग्छ मेला ?
यहाँ जेष्ठ शूल्क पूर्णिमासम्म चल्ने दशहरा मेलाको छुटटै महत्व छ । त्यसबाहेक साउन शुक्ल पञ्चमीदेखि पूर्णिमाको दिन ऋषितर्पणी अर्थात जनैपूर्णिमा सम्म खास मेला लाग्छ । यसबाहेक भदौ, असोज र कात्तिकमा धेरै पर्यटक यहाँ पुग्छन् । किनकी त्यसबेला मौसम गोसाईंकुण्ड यात्राका लागि अनुकूल हुन्छ ।

विशेषता
गोसाईंकुण्ड रसुवा जिल्लामा समुन्द्रि सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाईमा अवस्थित छ । हिमालको काखमा एक फराकिलो निलो पानीको सरोवर नै गोसाईंकुण्ड हो । यस आसपास करीव १ सय ८ अन्य कुण्ड रहेको बताइन्छ ।

त्यसमध्ये शिव र पावर्ती कुण्डमा भक्तजनको भीड लाग्छ । प्राकृतिक बनावट, र धार्मिक आस्थाका कारण गोसाईंकुण्ड एक पुग्नै पर्ने गन्तब्यका रुपमा स्थापित भइसकेको छ ।

कसरी पुग्ने ?
रसुवाको स्याफ्रुको सबैभन्दा उच्च स्थानमा गोसाईंकुण्ड अवस्थित छ । यस स्थानमा पुग्न रसुवा सदरमुकाम धुन्चेबाट एक दिनको प्रदलयात्रा गर्नुपर्छ । धुन्चेबाट देउराली, च्योलानपाटी, चन्दनबारी, लौरिविनायकको उकालो चढेसँगै गोसाईंकुण्ड पुग्न सकिन्छ ।

छिनछिनमा वर्षा हुने, घना जंगलको बाटो हुँदै उकालो लाग्दा जुका लाग्ने समस्या हुन सक्छ । तीन हजार मिटरभन्दा माथि लागेपछि लेक लाग्ने समस्याले पनि पिरोल्न सक्छ । यसमा सचेत हुँदै यात्रामा निस्कनु पर्छ ।

सकभर धुन्चेमा एक रात बिताएर हिँड्दै जादा उकालोसँग अभ्यस्त हुन सकिन्छ । यात्राका दौरान अन्नपूर्ण, गणेश, मनास्लु, लानटान हिमालको दृष्यावलोकनले सबै थकान मेटाइदिन्छ ।

बाटोभरी बौद्ध धर्मावलम्बीले टाँगेका प्रे फ्ल्यागले नि यो यात्राको रोमान्चकतामा बल थपिदिन्छ । विश्व सम्पदा सूचिमै सूचिकृति यो गन्तब्य लाङटाङ राष्ट्रिय निकुन्ज भित्र अवस्थित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here