सवारी नियम उल्लंघन गर्ने ८६ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

फाइलफोटो

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।

सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लंघन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुरअन्तर्गत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए। उनका अनुसार पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्नेको लाइसेन्स निलम्बन हुन्छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका हुन्।

यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, ९ जना ९ पटक, ११ जना आठ पटक, १३ जना ६ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेको बताइएको छ।

ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्रा होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसरी ५ पटक भन्दा बढी कार्वाहीमा परेका ८६ जना सवारी चालकका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभाग मिनभवन पठाएको हो ।

ट्राफिक नियम उल्लघंन गरीरहने चालकहरुबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकोले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here