लेखापरीक्षकको संख्या बढाउन महालेखापरीक्षकको सुझाव

काठमाडौं, २१ साउन । महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल)ले लेखापरीक्षकको संख्या बढाउन सुझाव दिएका छन् । सोमबार राजधानीमा आयोजित नेपाल अडिटर्स एशोसिएशन (अडान)को चौधौं स्थापना दिवसको अवसरमा आयोजित ‘अडान डे’ कार्यक्रममा बोल्दै उनले लेखापरीक्षकको संख्या अपुग इंगित गरेका हुन् ।

‘लेखापरीक्षण गर्नुपर्ने संस्थाको तुलनामा लेखापरीक्षकको संख्या अपुग भएको बारे सोच्ने बेला भएको छ,’ उनले भने, ‘त्यसैगरी लेखापरीक्षकहरु समयअनुकुल परिवर्तन हुन र आचारसंहिता पालनामा थप ध्यान दिनुपर्ने आवश्यकता छ ।’

अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले दर्तावाल लेखापरीक्षकको अनुभव १३ वर्षभन्दा माथि रहेको हालको अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई ‘क’ वर्गमा स्तरोन्नति गर्न माग गरे । साथै, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) मा रहेको विभेदको अन्त्य गरी लेखा व्यवसायलाई समृद्धिको आधार बनाउन र देशब्यापिरुपमा तालिम आयोजना गर्न पनि उनको माग छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, आइक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य, तथा लेखा ब्यवसायसँग सम्बद्ध संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अडानले आफना सम्पूर्ण सदस्यहरुलाई पेशागत आचरण र चरित्रलाई पालना गर्न आग्रह गर्दै आचारसंहिता बमोजिम कार्य गर्न अनुरोध गरेको छ । आजभन्दा १३ वर्षअघि स्थापना भएको अडानमा मुलुकभरका करीव ७ हजार २ सय सदस्य आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here