टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज उड्ने

फाइलफोटो

दाङ, २१ साउन । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ ।

यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।

एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण सङ्ख्या बढाउन लागिएको उनको भनाइ छ । ‘यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो”, उनले भने, ‘त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौँ ।’

लामो समयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा उडान हुने भएका हुन् ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताए । ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो ।

२०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा दैनिक सेवा दिन थालिएको हो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here