पाटा एडभेन्चर ट्राभल मार्ट भारतमा, नेपालद्धारा साहसिक र आध्यामिक प्रडक्ट प्रवद्र्धन

क्लाउडपत्रिका
काठमाडौं, ५ फागुन । प्यासिफिक एशिया ट्राभल एसोशिएसन (पाटा)ले यही फेब्रुअरी १३ देखि १५ मा भारतको उत्तराखण्डस्थित ऋषिकेशमा ‘पाटा एडभेन्चर ट्राभल एण्ड रेस्पोन्सिबल टुरिजम कन्फेरेन्स एण्ड मार्ट’ आयोजना गर्यो । मार्टमा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालबाट ६ वटा निजी पर्यटन व्यावसायिक संस्थाले भाग लिएका थिए ।

उत्तराखण्ड टुरिज्म डेभलपमेन्ट बोर्डको आतिथ्यतामा आयोजित मार्टमा २८ देशबाट सरकारी तथा निजीक्षेत्र सम्बद्ध ३०० जनाले भाग लिएको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । कार्यक्रममा नेपाल, भारत, भुटान, म्यान्मार, इण्डोनेसिया, मलेसिया, थाईल्याण्डलगायत १० गन्तब्यबाट ४७ बिक्रेता र अस्ट्रेलिया, क्यानाडा, चीन, कोरिया, स्पेन, बेलायत, अमेरिकालगायत १८ स्रोत बजार (देश) बाट ४४ क्रेताले भाग लिएका थिए ।

उक्त अवसरमा पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले नेपाल, भारत र भुटानको दिगो तथा जिम्मेवार पर्यटन बिकासका लागि तीन वटै राष्ट्रबीच संयुक्त पहल र सहकार्यका आवश्यक रहेको बताएका थिए ।

मार्ट नेपालको शाहसिक तथा धार्मिक गन्तब्य प्रवद्र्धनमा उपलब्धीमूलक बनेको पाटा नेपाल च्याप्टरले उल्लेख गरेको छ । प्रकृति, संस्कृति र साहसिक यात्राको बेजोड संयोजनबाट जीवन्त अनुभव प्रदान गराउने साहसिक पर्यटनका बिविध प्रडक्ट रहेको बारे नेपालले मार्टका सहभागीलाई जानकारी गराएको थियो ।

ऋषिकेशलाई योगको राजधानी मानिन्छ । यहाँ बार्षिक ३५ लाख श्रद्धालु तथा पर्यटक भ्रमणका लागी पुग्ने गर्छन् । नेपाली पर्यटनको मुख्य बजार भारत भए पनि नेपालको स्रोत र क्षमताका तुलनामा नेपाल आउने भारतीय पर्यटकको संख्या भने न्यून छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here