काठमाडौं २२, साउन । नेपाल वायुसेवा निगम सुधारका लागि सुझाब दिन सरकारले कार्यदल गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त कार्यदल गठन गरेको हो । नयाँ मन्त्रीको नियुक्तीको केही दिनमै कार्यदन गठन भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
समितिले नेपाल वायुसेवा निगममा विभिन्न पक्षहरुको वर्तमान अवस्था, समस्याहरु र सुधारका उपाय समेत पहिचान गरी एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । सोही प्रतिवेदनको सुझाबका आधारमा सरकारले निगम सुधारको योजना बनाउने जनाइएको छ ।
विगत लामो समयदेखि विभिन्न किसिमका व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन सकेको छैन । यसको प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरु भए तापनि यसले अपेक्षित गति लिन सकेको छैन । अन्तर्रा्ष्ट्रिय स्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक रहेकाले कार्यदल गठन गरिएको बताइएको छ ।
पूर्व सचिव सुशिल घिमिरेको संयोजकत्वम गठन भएको उक्त कार्यदलमा प्रमोद कर्ण, डिम प्रकाश पौडेल, सुधीर संशेर राई र बुद्धिसागर लामिछाने सदस्य छन् ।
कार्यदललाई निम्न जिम्मेवारी दिइएको छ ।
– नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने
– निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने ।
– निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने ।
– उल्लेखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने ।
– निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने ।