‘भाइरल’ पुल बनाउने तीन जनाविरुद्ध ५ करोड ४५ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको दाबीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदी माथि पक्की पुल बनाएको तर सो क्षेत्रमा बाटै नभएको खुलेपछि अख्तियारले विशेष अदालतमा तीन जनाविरुद्ध ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको हो।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सीडीओ ओम राज ढुङ्गानाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको गरेको दाबीसहित मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार अनुसन्धानमा प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठले दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन बदनियत पूर्वक गुरु योजना बनाएको र ग्रामीण सडक, सहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको डिजाइन गराएर ५ लाख ७१ हजार ७ सय ८० सेवा भुक्तानी गरेर राज्यको सम्पत्ति दुरुपयोग गरेको अभियोग लगाएको छ।

साथै पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजन इन्जिनियर ओम राज ढुङ्गानाले बदनियत पूर्वक गुरु योजना, ग्रामीण सडक, सहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको एकापट्टि रहेको पहुँच मार्ग सामुदायिक वन क्षेत्रमा कथित पुल निर्माणको नाममा वनको अनुमति बेगर सार्वजनिक वन क्षेत्रको जथाभाबी प्रयोग गरी बाटो निर्माण गराई राज्यको सम्पत्ति दुरुपयोग गरेको उल्लेख छ।

सरकारी सम्पत्ति वनको नोक्सान गरी सार्बजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर भएकोले निज ओमराज ढङ्गानालाई सोही ऐनको दफा ८ उपदफा (३) बमोजिम सजाय हुन मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here