मुगुको तीन ठाँउमा रारा भिलेज रिसोर्ट खुल्दै, काठमाडौंमा कर्पाेरेट कार्यालय

काठमाडौ, ३० साउन । मुगु जिल्लामा सञ्चालनमा ल्याइन लागिएको रारा भिलेज रिसोर्ट प्रालिको काठमाडौंका लागि सम्पर्क कार्यालय (कर्पाेरेट अफिस) खुलेको छ ।

काठमाडौंको सीटीसी मलमा खोलिएको कर्पाेरेट अफिसको बिहीबार राजधानीमा एक कार्यक्रमवीच मगुका संविधानसभा सदस्य गोपाल बमले उदघाटन गरे ।

मुगुमा बन्ने रिसोर्ट वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबाट बनाइने छ । गोर्खा इको प्यानलको प्रयोगबाट रिसोर्ट बनाइने र नेपाल भ्रमण वर्षलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ ।

मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइने छ ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरिय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको रिसोर्ट बनाउन लागिएको बताइएको छ ।

स्थानीय जनताहरुको जीवनस्तर एवं दैनिकीमा सुधारमा योगदान गर्ने लक्ष्य कम्पनीको छ ।

नेपाल सरकार र रारा नगरपालिकाले यसै बर्षदेखि ताल किनारमा रहेका प्राय सवै संरचना हटाई तालको स्वच्छता कायम गर्ने अभियान चलाउने घोषणा गरेका कारणले पनि अव ताल किनारमा बसोवासका लागि कुनै पनि होटल रहने छैनन् ।

बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको अवस्थामा रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा पहिलो चरणमा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानमा होटल निर्माण गरी कम्तीमा ५० जनालाई सेवा दिने गरी कार्ययोजना बनाएको कम्पनीले जानकारी दिएको छ ।

विदेशमा रहेका नेपाली र विदेशीहरुवाट लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कार्यक्रम रहेको कम्पनीले बताएको छ ।
सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here