एक गलत गुगल सर्च…..जसले लुट्यो भएभरको बैंक ब्यालेन्स

जब तपाई कुनै विषयको जानकारी प्राप्त गर्न चाहनुहुन्छ, त्यसबेला गुगल तपाईको सबैभन्दा सहयोगी हुन सक्छ । तर, त्यो गुगल सर्च गलत भयो भने के हुन्छ ?
यतिबेला भारतमा गुगल सर्चमा माध्यमबाट मानिसको बैंक ब्यालेन्स नै उड्ने सम्मका घटना सार्वजनिक भएका छन् । जसले डिजिटल दूनियाँको खतरनाक पाटोलाई बाहिर ल्याइरहेको छ ।

बैंलोरमा हालै एक महिलाले गुगल सर्चबाट एक गलत सूचना लिएकै कारण आफ्नो भएभरको बैंक ब्यालेन्स गुमाउनु परेको छ । संचारमाध्यमहरु लेख्छन्, महिलाले जोमाटो नामक एपको कस्टमर केयरसम्बन्धी फोन नम्बर फेला नपरेपछि गुगलको शरणमा पुगिन । यो एपका माध्यमबाट रेष्टुरेन्टले खाना घरसम्म ल्याउने सुविधा रहेको छ ।

उनले गुगलमा सर्च गरेपछि एक नम्बर फेला पर्यो । उनले त्यो नम्बरमा फोन लगाइन् । फोनमा बोल्ने मानिसले रिफण्डका लागि भन्दै बैंक अकाउन्टको डिटेल माग गर्यो ।

उनले आफ्नो सबै विवरण फोनमा टिपाइन् । त्यसको केही समय भित्रै उनको बैंकमा भएको सबै ब्यालेन्स उडेर शून्य देखियो । उनको मिहेनतको कमाई कोही अर्कैले लगिसकेको थियो ।

किन यस्तो भयो ?
वास्तवमा गुगल सर्चमा भेटिएको फोन नम्बर जोमाटो एपको आधिकारिक नभई फर्जी थियो । घटना सार्वजनिक भएछि जोमाटो कम्पनीले नै फर्जी नम्बरको विषयलाई लिएर प्रशासनमा केश दर्ता समेत गरिसकेको छ ।

चेन्नईमा समेत एक महिलासँग कष्टमर केयरवापत जब बैंक अकाउण्ट माग भयो, उनले जानाजान झुटो बैंक पीन नम्बर बताइन् । लगत्तै उनलाई एक म्यासेज आयो, जसमा लेखिएको थियो, गलत पासवर्डका कारण तपाईको कारोबार फेल भएको छ ।

यस अगाडी मुम्बईमा पनि यस्ता गुनासो आएको थियो । खासमा लुटेराले गुगल सर्चमा कुनै पनि कम्पनीको फोन नम्बर परिवर्तन गरी आफ्नो नम्बर राख्न सक्छन् ।

जब उनीहरुलाई ग्राहकको फोन आउँछ, त्यसपछि ग्राहकसँग बैंक अकाउन्टको डिटेल माग गरी ब्यालेन्स खाली गराउने सम्मको काम गर्छन् । यो सम्बन्धित कम्पनीलाई भने थाहा नै हुँदैन ।

किनकी उक्त कम्पनीको वास्तविक नम्बर अर्कै हुन्छ । गुगलमा रहेको कुनै पनि पसल, बैंक, संस्था वा कम्पनीको नम्बर बदल्न सक्ने सुविधाको उपयोग गरी लुटेराहरुले आफ्नो नम्बर राख्ने गर्छन् ।

सोहीकारण कम्पनीको आधिकारिक वेवसाइटबाट भन्दा बाहेक गुगल सर्चबाट फेला परेको फोन नम्बरमा विश्वास गरी कुनै पनि कारोबार नगर्न कम्पनीहरुले सचेत गराउने गर्छन् ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here