रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ९ एन–एबीटी ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ,’ क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।’ रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।

‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ,’ उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’ उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो ।

पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु ६ हजार ३०० भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल १५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here