पासाङ दावाले चढे २६ पटक सगरमाथा, कामी रिताको विश्व कीर्तिमान बराबर

काठमाडौं । पासाङ दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथामा सर्वाधिक पाइला राख्नेको कीर्तिमान बराबर गरेका छन् ।

आइतबार बिहान २६औँ पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै अर्का कीर्तिमानी कामी रिता शेर्पासँग बराबरी गरेका हुन्।

पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ।

सन् १९९८ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका पासाङले त्यसयताका २६ वर्षमा २६ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन्। आइतबार बिहान पौने ९ बजे वसन्त ऋतुको पहिलो सफल आरोहणमा ३ विदेशी र ३ नेपाली आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेक्दा शेर्पा पनि टोलीमा थिए ।

आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । नेपाली नागरिकहरू खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन् ।

पा दावा उपनामले पनि चिनिने उनले सन् २००६, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा दुई पटक सगरमाथाको चुचुरोमा पाइला राखेका थिए।

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढी पटक आरोहण गरिसकिएको छ । यसक्रममा कम्तीमा ३२० जनाले ज्यान पनि गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here