‘काठमाडौं-क्वालालाम्पुर-भैरहवा–काठमाडौं’ नियमित उडान हुने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गते (जुन १२) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।

एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो ।

उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने जनाएको छ ।

पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।

यसै सिलसिलामा निगमका कार्यकारी अध्यक्ष र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाका डाइरेक्टर अफ सिभिल एभिएसन अथोरिटी (सीएएएम) सँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी छलफल भएको थियो ।

उक्त भ्रमणमा मलेसियास्थित नेपाली दुतावास, ट्राभल एजेन्टहरू, त्यहाँ रहेका उद्यमी व्यवसायीहरू, नेपाली समुदायका व्यक्तिहरूसँग समेत छलफल भएको बताइएको छ ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए) सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने बताइएको छ ।

यसपश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट समेत काठमाडौँ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ। यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने एयरलाइन्सले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here