भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीले जलाए अखण्ड भारतको नक्सा

काठमाडौं । भारतको ‘अखण्ड भारत नक्सा’मा नेपालको भू–भाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केही भू–भाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले पटक–पटक नेपालको भू–भाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरासमेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

विरोध प्रदर्शनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here