७० वर्षे उमेर हद हटेपछि बामदेव गौतम उत्साहित, ओलीले फोन गरे एमाले फर्कने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहेका बामदेव गौतम एमालेले ७० वर्षे उमेर हदको बाधा फुकाएपछि उत्साहित देखिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन पटक भेटवार्ता भएर एमालेमा आउन तयार रहेको बताएका गौतम नेतृत्वले पहल गरे आफू फर्कने बताए । बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको घोषणा गरे।

‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने, ‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’

उनले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताएका छन्। ‘मेरो प्रस्ताव उमेर हद हट्नै पर्छ भन्ने थियो। उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उनले भने, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’

‘निलम्बन भनेको के हो? केही समयका निम्ति काम गर्न नदिने होइन? यो निलम्बन आगामी ६ महिनासम्म, पार्टीको एघारौँ महाधिवेशनसम्मको निम्ति मात्र हुन पनि सक्छ। निलम्बनसम्बन्धी निर्णय गरेपछि वरिष्ठ नेताहरू आउनुभयो, तपाईंलाई लैजानेबारे अध्यक्षले निर्णय गर्नुहुन्छ भन्नुभयो। अध्यक्षले फोनबाट बोलाए पनि त भयो नि?,’ उनले भने।

बुधबार संघीय संसदको दुवै सदनको बैठक सकिएपछि सूर्य थापा, सूर्य ढकाललगायत एमाले सांसदहरूले घेरेर बामदेवलाई पार्टीमा फर्कन आग्रह गरेका थिए। पार्टी नेतृत्वले आधिकारिकरूपमा बोलावट नगरेको बताउँदै उनले भने, ‘जानुस् केपी ओलीलाई गएर भन्नुस्, उहाँ आउन तयार हुनुहुन्छ।’