गर्मी बढ्ने क्रममा, ‘लू’ लाग्दा स्वास्थ्यमा कस्तो असर देखिन्छ ?

काठमाडौं । विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौंमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने विभागले जनाएको छ ।

यो वर्ष नवलपरासीको दुम्कौलीमा ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जुन यो वर्षकै उच्च तापक्रम हो । उच्च गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

तातो हावा (लू) बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिने विभागको भनाइ छ । यसबाट बच्न तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन विभागको आग्रह छ ।

बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन पनि विभागको अनुरोध छ ।