ओलीको उत्तेजक भाषण-‘प्रचण्ड संरक्षित गुण्डाहरु’बाट आक्रमण भइरहेको छ, अब प्रतिवाद गर्छौं’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन भनेका छन्।

बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै उनले कार्यकर्ताहरूको रक्षा आफैंले गर्नुपर्ने परिस्थिति आएको बताएका हुन्।

प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको एमाले अध्यक्ष ओलीको दाबी छ।

उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए। उनले कोशी प्रदेशमा अपराधिक घटना भइरहेको दाबी गरे। उनले पहिचानवादीका नाममा सत्तापक्षले मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने बताए । अध्यक्ष ओलीले पहिचानका नाममा भइरहेका क्रियाकलापको सामना गर्न एमाले नडराउने बताए। अध्यक्ष ओलीले नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्र भए पनि त्यो सफल नहुने बताए ।

उनले भने, ‘‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ। सरकार केही गर्दैन। प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ। पहिचानका नाममा एउटै मानिस हरेक ठाउँमा बाइक लिएर पुग्ने गरेका छन्। कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा अपराधिक घटना भइरहेका छन्। कहिले बन्द भनेको छ, कहिले तोडफोड, कहिले अनेक छ।

आजमात्रै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो। पहिचानका नाममा कहाँसम्मको हत्या प्रयास भइरहेको छ। प्रचण्डपथका यी गुण्डाहरूलाई एमालेले तयारीका साथ दनक दिनुपर्ने भयो । आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले सक्षम छ । यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन ‘नो कम्प्रोमाइज’। नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ।’’

अध्यक्ष ओलीले प्रदेशका नाममा भइरहेका अन्दोलनलाई एमाले हेरेर नबस्ने बताएका छन् । उनले सरकारका कामप्रतिसमेत आशंका व्यक्त गरेका छन्। अध्यक्ष ओलीले भने, ‘‘सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ।’’ अध्यक्ष ओलीले सरकार कोशी प्रदेशको नाम आफैँ सहमति गरेर अहिले देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here