रावा इनर्जीको आइपीओ बाँडफाँड, १० लाखबढी आवेदकको हात खाली

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन्।

जसमध्ये भाग्यमानी ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपीओमा कुल ११ लाख ८५ हजार २०६ जनाले आवेदन दिएकोमा १ लाख ७ हजार ४६६ जनाको आवेदन रद्द भएको छ।

बाँकी १० लाख ७७ हजार ७४० जनाको आवेदन बाँडफाँडका लागि योग्य भएको बिक्री प्रबन्धकले बताएको छ। कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here