कोशी प्रदेशको नीति तथा कार्यक्रम, प्राथमिकता कृषि र रोजगारी (पूर्णपाठ)

काठमाडौं । कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रदेशसभामा बुधबार प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले विगतका कतिपय कार्यक्रमलाई निरन्तरता दिएको छ । केही नयाँ कार्यक्रम थप गरेको छ ।

सरकारले उल्लेख्य रूपमा रोजगारी बढाउन स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिने, प्रदेश गौरवको आयोजना पहिचान गर्ने, गरिबी निवारणका उपायको अध्ययन गर्ने र दीर्घकालीन महत्त्वका योजनालाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा ‘कोशी औद्योगिक क्षेत्र’ स्थापनाका लागि अध्ययन गरिने, अल्लो, बाँस, बेतबाँस, भेंडाको उन, पशुहरुको छाला जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने उल्लेख गरिएको छ ।

प्रदेश भित्रका सबै नागरिकको घरमा आगामी दुई वर्ष भित्रमा विद्युत सुविधा पुर्याउन कार्ययोजना स्वीकृत गरी सम्बन्धित निकायसँगको सहकार्यमा कार्ययोजना कार्यान्वयन गरिने, सामुदायिक क्याम्पसहरुको गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पूर्वाधार विकासमा सहयोग गरिने कुरा उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहमा संरक्षण कोषको व्यवस्था गर्न सहजिकरण गरिने, कोशी प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक र ऐतिहाँसिक क्षेत्रभित्र रहेका लिपि, भाषा, साहित्य, कला, संस्कृति आदिको संरक्षण, सम्बर्द्धन, अध्ययन, अनुसन्धान गरी यस क्षेत्रलाई संमृद्ध बनाउनका लागि प्रादेशिक संस्कृति नीति तर्जूमा गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here