हिंसा भड्काउने खालका ट्विट गर्ने एकाउन्ट ब्लक गर्दै ट्विटर

काठमाडाैं । आजभोली स–साना कुराहरुलाई पनि व्यापक रुपमा प्रचारप्रसार गर्न मानिसहरुले ट्विटर, फेसबुक जस्ता सञ्जालको दुरुपयोग गर्न थालेका छन् ।

कुनै जाती, सम्प्रदाय, समूह वा सँस्कृति अथवा भाषी प्रति घृणा फैलाउने, भ्रामक समाचार पोस्ट गर्ने र त्यसलाई धेरै भन्दा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता माझ पुग्ने गरी भाइरल प्रवृत्ति केही समययता बढेको छ ।

यस्ता कार्यको कारण कुनै संवेदनशिल घटना वा विषयवस्तुले जटिल मोड लिने र हिंसा निम्त्याउने सम्मका अवस्था सिर्जना भएका छन् ।

नेपालमै पनि हालसालै पत्रकार शालिकराम पुडासैनीको आत्महत्या पछि उनका पूर्व सहकर्मी चर्चित कार्यक्रम प्रस्तोता रवी लामिछाने सहित अन्य तीन जनालाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेपछि रवी समर्थक धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पोस्ट गरेका विभिन्न किसिमका प्रतिक्रियाले घटनालाई जटिल बनाउँदै गएको भन्दै प्रहरीले निगरानी बढाएको छ ।

त्यसैले यस्ता भड्काउने र नराम्रा कुराहरु प्रचार गर्नबाट रोक्नको लागि माइक्रो ब्लगिङ साइट ट्विटरले कडा कदम चाल्ने भएको छ ।

ट्विटरले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘अब ट्विटर त्यस्ता सबै अकाउन्टमा विशेष ध्यान दिन्छ जसले भड्काउने ट्विट गर्छ ।’

ट्विटरले भनेको छ, ‘यस्तो अवस्थामा ठूला नेताहरु, भेरिफाइड अकाउन्ट तथा १ लाख भन्दा धेरै फलोअर्स भएको सबै ट्विटर अकाउन्टलाई विशेष ध्यान दिन्छ । र, यस्ता प्रकारका ट्विट गरेमा एक नोटिस पठाउने गर्छ ।’

ट्विटरले नियम उल्लङ्घन गर्ने अकाउन्टमा एक नोटिस पठाउने गर्छ जुन नोटिफिकेशनको रुपमा आउने गर्दछ ।

नोटिफिकेशनलाई क्लिक गरेपछि पुरा म्यासेज देखिन्छ जसमा स्पष्टीकरण पनि हुन्छ ।

ट्विटरले केही महिनाययता आतंक र आतंकवादलाई सहयोग गर्ने खालको १ लाख ६६ हजार ५ सय १३ एकाउन्ट ब्लक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here